दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडौँ । गण्डकी प्रदेशको मनाङ प्रदेशसभा क्षेत्र नं. १(२) मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
सर्वोच्च अदालतको आदेशपछि राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि रिक्त उक्त पदमा निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगको शुक्रबार बसेको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
यसअघि, २०८२ असार १६ गते रूपन्देही–३ मा उपनिर्वाचनको मिति तय भइसकेको हुँदा त्यसअनुसार भदौ २५ मा प्रकाशित अन्तिम मतदाता नामावली नै मनाङमा पनि प्रयोग गरिने आयोगले जनाएको छ।
संविधानअनुसार, प्रदेशसभाको कार्यकालमा ६ महिनाभन्दा बढी समय बाँकी रहँदा पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। दीपक मनाङेको पद २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको हो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत कात्तिक २० गतेको फैसलामा मनाङेलाई प्रदेशसभा सदस्य बन्न अयोग्य ठहर गरेको थियो।
उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै आयोगले मनाङ–२ मा उपनिर्वाचनको घोषणा गरेको हो।
दीपक मनाङे २०७४ र २०७९ सालको प्रदेशसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर, चक्रे मिलनको हात छिन्ने गरी भएको घटनामा संलग्न भई ज्यानमार्ने उद्योगको अभियोगमा उनलाई सर्वोच्चले जेल सजायको फैसला सुनाएको थियो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल सम्मिलित संवैधानिक इजलासले उक्त फैसला गरेको हो।
फैसला अनुसार, मनाङे २०७४ को अपराधका कारण थप ६ वर्षसम्म निर्वाचन लड्न अयोग्य हुनेछन्।
यसैदिन, रूपन्देही–३ मा पनि उपनिर्वाचन हुँदैछ, जहाँ राप्रपाका नेता दीपक बोहोराको निधनपछि पद रिक्त भएको हो।
