संघीयता कार्यान्वयनमा देखिएका चुनौतीको गहिरो विश्लेषण आवश्यक : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई अब गम्भीर ढंगले विश्लेषण गर्ने समय आएको बताएका छन्।
शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नेपालको संघीय प्रणालीले एक दशकको यात्रा पूरा गर्न लागिरहेको सन्दर्भमा यसको सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरू गहिरो रूपमा मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याए।
“अब जुन कुरा आफूलाई लागेको त्यही ठीक भन्ने प्रवृत्ति हावी हुँदै गएको छ, जसले सकारात्मक प्रतिफल दिन कठिन भइरहेको छ,” सभामुख घिमिरेले भने।
संविधानले कल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको सरकार संरचना मौलिक अभ्यास भएको उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
संघीयता कार्यान्वयनमा देखा परेका जटिलता समाधानका लागि अन्तर्राष्ट्रिय अभ्यास र नेपालको विशेष अनुभवलाई आधार बनाउँदै अघि बढ्नुपर्ने उनले बताए। प्रशासकीय संरचनामा अझै विद्यमान केन्द्रीकृत सोच र कर्मचारी व्यवस्थापनसम्बन्धी समस्याहरू सबै तह मिलेर समाधान गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रमका क्रममा सभामुख घिमिरेले प्रतिष्ठानद्वारा प्रकाशित नेपालको संघीय शासन प्रणालीः आयाम र अभ्यास शीर्षकको दोस्रो श्रृंखला पुस्तकको विमोचन समेत गरे।
