भूमि संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस, माओवादी र रास्वपाको फरकमत

काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेकी हुन्।

प्रतिवेदनमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने फरक मत राखेका छन्। माओवादी केन्द्रले सूचित आदेशमार्फत सरकारले जग्गाको हदबन्दी तोक्ने र परिवर्तन गर्न सक्ने व्यवस्थाको विरोध गर्दै यो व्यवस्थापिकाको अधिकार कार्यपालिकालाई सुम्पने खतरनाक प्रवृत्ति भएको चेतावनी दिएको छ।

विधेयकमा घर-जग्गा व्यवसायसँग सम्बन्धित व्यवस्थाहरू समेटिएका छन्। जसअनुसार, सरकारले सूचित आदेशमार्फत तोकेको हदभित्र अनुमति प्राप्त कम्पनीहरूले घडेरी विकास तथा घर वा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न सक्ने छन्।

माओवादीको फरकमत:
माओवादी केन्द्रको भनाइमा, सूचित आदेशमार्फत जग्गाको हदबन्दी तोक्ने अधिकार मन्त्रिपरिषद्ले पाउने व्यवस्था कार्यपालिकाको मनपरीलाई कानुनी वैधता दिने खतरा बोकेको छ। साथै, अव्यवस्थित बसोबासीसम्बन्धी व्यवस्था खुकुलो बनाइएको भन्दै मापदण्ड घटाइएकोमा आपत्ति जनाएको छ। प्रचलित ऐनमा सात मापदण्ड रहेकामा तीन हटाएर चार मात्रै राखिएको माओवादीको चिन्ता छ, जसले गलत लाभ उठाउने सम्भावना बढ्ने देखिएको छ।

रास्वपाको ३ बुँदे फरकमत:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विधेयकप्रति तीनवटा फरक मत राखेको छ।

  • हदबन्दी छुटमा खुकुलोपन: प्रस्तावित व्यवस्थाले भूमि उपयोगमा पारदर्शिता, वैज्ञानिक योजना, वातावरणीय संरक्षण तथा दुरुपयोग नियन्त्रणमा गम्भीर प्रश्न खडा गर्ने देखिएको छ।
  • कार्यपालिकाको अत्यधिक अधिकार: जग्गाको हदबन्दी तोक्ने र परिवर्तन गर्ने अधिकार कार्यपालिकालाई दिँदा शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने र विधायिकाको निगरानीबाट बाहिर जाने अवस्था सिर्जना हुने चिन्ता व्यक्त गरिएको छ।
  • अव्यवस्थित बसोबासीको परिभाषा अस्पष्ट: वास्तविक भूमिहीन र कृत्रिम रूपमा सिर्जित अव्यवस्थित बसोबासीबीच भेद छुट्याउन नसकेको भन्दै यसले भविष्यमा नीतिगत अस्पष्टता र दुरुपयोग निम्त्याउने बताइएको छ।

अब प्रतिनिधिसभाले प्रतिवेदनमाथि छलफल गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउनेछ।