प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो, अनुकूल मितिमा भ्रमण तय हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा पठाएका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीसँग आइतबार शिष्टाचार भेट गरी उक्त निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।
नेपालस्थित भारतीय दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री श्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारत भ्रमण गर्न औपचारिक निमन्त्रणा दिनुभएको छ।”
प्रधानमन्त्री ओलीले आगामी भदौ ३१ गते भारतको बोधगया भ्रमण गर्ने तयारी गरिरहेका छन्, तर भ्रमणको औपचारिक घोषणाबारे दुबै देशले पुष्टि गरेका छैनन्।
विदेश सचिव मिश्रीले नेपालको दुईदिने भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका थिए। भेटमा उनले भारत सरकारको शुभकामना व्यक्त गर्दै दुई देशबीचको पारस्परिक लाभका द्विपक्षीय सहकार्यमा हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग भेट गर्दै रक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरेका थिए।
दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि भेटवार्तामा दुवै पक्षले भौतिक र डिजिटल कनेक्टिभिटी, रक्षा–सुरक्षा, ऊर्जा सहकार्य लगायतका विविध क्षेत्रहरूमा पछिल्ला वर्षहरूमा हासिल भएको ठोस प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्।
विदेश सचिव मिश्रीले नेपालका अन्य वरिष्ठ नेताहरूसँग पनि भेटवार्ता गरेका थिए।
भारतीय दूतावासका अनुसार यो भ्रमणले नेपाल–भारतबीचको नियमित उच्चस्तरीय संवादलाई निरन्तरता दिएको र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुगेको छ।
