दुर्गा प्रसाईंद्वारा नयाँ राजनीतिक दल खोल्ने घोषणा, चैत १५ को घटनाबारे खुलासा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले मुलुकको अवस्था सुधार गर्न नयाँ दल गठनको निर्णयमा पुगेको जानकारी दिए। उनले “राष्ट्रिय स्वाभिमानसहितको दल” चाँडै सार्वजनिक गरिने भन्दै, वर्तमान शासन प्रणालीभित्रै रही नयाँ राजनीतिक शक्ति निर्माण गर्ने बताए।
“अबको राजनीति राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति, सुशासन, स्थिर शासन, रोजगारी र नागरिक सुरक्षामा केन्द्रित हुनेछ,” प्रसाईंले बताए।
चैत १५ को घटनाबारे पहिलोपटक बोले
प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे पहिलोपटक सार्वजनिक टिप्पणी गर्दै आफूलाई त्यही दिन मार्ने योजना बनाइएको दाबी गरे।
उनका अनुसार, करिब १० वर्षपछि पहिलोपटक गाडी चलाएर सो दिन कार्यक्रमस्थल जाँदै गर्दा आफूलाई लक्षित गरेर हत्या योजना बनाइएको थाहा पाएपछि सिधै प्रहरीकैमा पुगेका थिए।
“म गाडी लिएर प्रहरीकोमा गएँ। मार्ने योजना बनेको थाहा पाएपछि मैले सिधै प्रहरीकै गुँडभित्र छिर्ने निर्णय गरेँ,” उनले भने।
उनका अनुसार त्यहाँ एक जना डीएसपीले उनलाई संयमता अपनाउन आग्रह गर्दै कार्यक्रम सम्पन्न गरेर निस्कन सुझाव दिएका थिए।
प्रसाईंले त्यसपछि मञ्चमा पुगेर आफ्ना समर्थक र सुरक्षाकर्मीलाई संयमित रहन आग्रह गरेका थिए। “मैले मञ्चबाट प्रहरीसँग धक्कामुक्का नगर्न, अश्रुग्यास नहान्न अनुरोध गरेँ,” उनले सुनाए।
उनले एक जना सिभिल ड्रेसका प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी गराएपछि कर्फ्यु लगिनुअघि नै उपत्यका छाडेको खुलासा गरे।
प्रसाईंले आरोप लगाउँदै भने, “मलाई इन्काउन्टर गर्ने आदेश थियो रे। यो देशमा मदन भण्डारी बाँचेका थिए भने अरूको चान्स आउँदैन भन्ने थियो। त्यसैले उहाँलाई मारियो। अब पनि त्यस्तै मानसिकता दोहोरिन खोजिएको हो।”
