पार्टी एकता पहलमा नारायणकाजी श्रेष्ठको सक्रियता, झलनाथ खनालसँग डल्लुमा भेटवार्ता

काठमाडौं । पार्टी एकताको सम्भावना खोज्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सक्रिय बनेका छन्। सोही पहलका क्रममा उनले आइतबार नेकपा (एस) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग डल्लुस्थित निवासमा भेटवार्ता गरेका छन् ।

करिब डेढ घण्टा लामो छलफलमा दुबै नेताले विश्व राजनीतिका वर्तमान प्रवृत्ति, अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा समाजवादी आन्दोलन, र नेपालको राजनीतिक अवस्था तथा वामपन्थी दलहरूबीचको सहकार्यबारे विचार आदानप्रदान गरेका थिए।

श्रेष्ठले आफ्नो पार्टीको स्थायी कमिटीबाट पारित “पार्टी एकता प्रस्ताव”बारे खनाललाई जानकारी गराउँदै सहकार्यका लागि आग्रह गरेका थिए। जवाफमा खनालले पनि वामपन्थी तथा देशभक्त शक्तिबीचको एकता र सहकार्यको पक्षमा आफू रहेको धारणा राखेका थिए।

हालैका दिनमा श्रेष्ठले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (एस) का महासचिव घनश्याम भुसालसँग पनि छलफल गरिसकेका छन्।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार, यो भेटवार्तामा दुई पार्टीबीच मात्र सीमित भएर एकता गर्ने विषयमा भने कुनै विशेष छलफल नभएको स्पष्ट गरिएको छ।

यद्यपि, दुबै नेताले वर्तमान राजनीतिक परिवर्तनको रक्षा गर्दै समृद्ध नेपाल र वैज्ञानिक समाजवादतर्फ अघि बढ्न वामपन्थी, कम्युनिस्ट तथा देशभक्त शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेकोमा सहमति व्यक्त गरेका छन्।