प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता, नेपाल भ्रमणको निम्ता
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा तुर्कमेनिस्तानका राष्ट्रपतिसँग भेट गरेका हुन्।
भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई निमन्त्रणा गरेका हुन् ।
भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनलगायतका विषयमा छलफल भएको बताए । सो अवसरमा उनले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले आवाजा सहरमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीको आजै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।
हरेक १० वर्षमा हुने सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणा गरेका थिए ।
