निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिको कांग्रेस–एमालेबाहेकका दलहरूद्वारा विरोध

काठमाडौं । निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को विरुद्धमा संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका अन्य दलहरूले कडा असहमति जनाएका छन् ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले कार्यविधि संविधान र कानुनविपरीत भएको निष्कर्ष निकालेका हुन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो कार्यविधि संविधान र विद्यमान कानुनी व्यवस्था विपरीत भएको भन्दै सबै दलहरूको साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको जानकारी दिए।

उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेको सहमतिमा आयोगले कार्यविधि ल्याउन लागिएको भन्दै साना दललाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए।

नेकपा (एस) अध्यक्ष माधव कुमार नेपालले कार्यविधिले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सँग मेल नखाने उल्लेख गर्दै प्रस्तावित समिति, संयोजक र अधिकारहरू संविधानको मर्मविपरीत रहेको बताए। साथै, दलका सफ्टवेयर तथा प्रयोगकर्ताको विवरणमा आयोगलाई पहुँच दिने प्रावधानले पार्टीहरूको आन्तरिक स्वायत्ततामा हस्तक्षेप हुने बताए।

रास्वपाका नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै त्रुटिपूर्ण भएको दाबी गर्दै विरोधमा रहेको प्रस्ट पारे।

राप्रपाका बुद्धिमान तामाङ, लोसपाकी रेखा यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति र अन्य दलका प्रतिनिधिहरूले समेत कार्यविधि संविधान, लोकतन्त्र र दलहरूको स्वायत्तताविरुद्ध रहेको टिप्पणी गरे।

जनमत अध्यक्ष राउतले आयोगले साना दलहरूको अभिलेख अद्यावधिक नगरेको र तिनलाई हटाउने रणनीति बनाएको आरोप लगाए। उनले आयोगको पक्षपाती व्यवहारविरुद्ध एकीकृत प्रतिवाद आवश्यक भएको बताए।

आजपाका अध्यक्ष प्रभु साहले स्पष्ट रूपमा संविधान र ऐनको उल्लंघन भएकाले यसविरुद्ध संघर्ष अपरिहार्य भएको बताए।

बैठकमा सहभागी दलहरूले ‘स्वमूल्यांकन’ नाम दिइए पनि यो नियन्त्रका लागि ल्याइएको कार्यविधि भएको उल्लेख गर्दै साझा धारणा बनाइ आयोगसँग प्रतिवाद, छलफल र आवश्यक परे आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाले।

नागरिक उन्मुक्ति पार्टीले हिजोको बैठकमा विरोध जनाएको भए पनि आजको बैठकमा बाहिर रहेका कारण सहभागी हुन नसकेको जानकारी दिएको छ।