सरकारबाट ‘राष्ट्रिय श्रम आप्रवासन नीति २०८२’ स्वीकृत

काठमाडौं । सरकारले वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित, उत्तरदायी र दिगो बनाउने उद्देश्यसहित तयार गरिएको ‘राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२’ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को १८ भदौमा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा तयार गरिएको सो नीति पारित गरेको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

उनका अनुसार नयाँ नीतिले निम्न लक्ष्य र व्यवस्था समेटेको छ:

नेपाली श्रमिकको मानव अधिकारको संरक्षण

पारदर्शी सेवा प्रवाह र सामाजिक सुरक्षाको सुनिश्चितता

सीप विकास र श्रम कूटनीतिको सुदृढीकरण

अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण र व्यवस्थापन

महिला तथा लैङ्गिक/यौनिक अल्पसंख्यक श्रमिकमैत्री नीति र कार्यक्रम

यस नीतिले ‘वैदेशिक रोजगार नीति, २०६८’ लाई प्रतिस्थापन गर्दै नयाँ संघीय संरचना अनुसार केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा लागू गरिने भएको छ। साथै, कूटनीतिक नियोग, निजी क्षेत्र, श्रमिक प्रतिनिधि, विकास साझेदार र सरोकारवालाबीच सहकार्यमा आधारित एकीकृत सेवा प्रणालीमार्फत नीति कार्यान्वयन गरिनेछ।

नीतिले श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या, चुनौती र जोखिम समाधान गर्दै विप्रेषण आम्दानीलाई उत्पादन र उद्यमशीलतामा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। त्यसअनुसार, वैदेशिक रोजगारसम्बन्धी ऐन तथा नियमावली संशोधन, सीप प्रमाणीकरण, श्रम कूटनीति सबलीकरण, सामाजिक सुरक्षा पहुँच विस्तार र उद्यमशीलता प्रवर्द्धन जस्ता उपाय अवलम्बन गरिनेछ।