मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा, बागमतीमा नयाँ नेतृत्वको तयारी, अब के हुन्छ?

हेटौंडा, साउन १८ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो राजीनाको घोषणा गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै लामाले आफू इमानदार भएकै कारण यस्तो परिस्थितिमा पुग्नुपरेको टिप्पणी गरे। उनले साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएर साउन ९ मा पद तथा गोपनीयताको शपथ लिएका थिए।

तर नेपाली कांग्रेसको संसदीय दलभित्रको आन्तरिक कलहका कारण लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। २१ सांसदको हस्ताक्षरसहित दर्ता भएको सो प्रस्तावमाथि मतविभाजन हुँदा २२ सांसदले समर्थन जनाएपछि लामाले संसदीय दलको नेताबाट पद गुमाएका थिए।

साउन १४ गते भएको नयाँ निर्वाचनमा इन्द्रबहादुर बानियाँले २२ मत ल्याई संसदीय दलको नेता बनेपछि लामा ८ मतले पराजित भएका थिए। त्यसपछि नैतिकताको आधारमा मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने माग तीव्र बनेको थियो।

यद्यपि, प्रारम्भमा लामाले संविधानको व्याख्या गर्दै राजीनामा नदिने संकेत गरेका थिए। तर, पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि अन्ततः उनले पदबाट बहिर्गमन गर्ने निर्णय लिए।
अब के हुन्छ ?

लामाको राजीनापछि अब बागमतीमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ। नव निर्वाचित कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ।

बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुनेछन्। नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री पद २०/२० महिनाका लागि बाँडफाँट गरिएको थियो। लामाले १२ महिना सरकारको नेतृत्व गरिसकेकाले अब बाँकी ८ महिना बानियाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।

त्यसपछि नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति छ। केन्द्रमा प्रधानमन्त्री परिवर्तन भएपछि बागमतीमा एमालेको नेतृत्वमा सरकार बन्ने संकेत गरिएको छ।