प्रचण्डको स्पष्ट जवाफ जनार्दनलाई: “गल्ती जसले गर्छ, आत्मालोचना उसैले गर्नुपर्छ”
काठमाडौं, भदौ १८ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माको आलोचनात्मक टिप्पणीको जवाफ दिँदै आत्मालोचना गर्ने जिम्मेवारी गल्ती गर्ने व्यक्तिकै हुने स्पष्ट पारेका छन् ।
आइतवार स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले “छलफल चलिरहेको छ, जसले गल्ती गरेको छ उसैले आत्मालोचना गर्नुपर्छ” भन्ने धारणा राखे।
यसअघि बैठकमा शर्माले अध्यक्ष प्रचण्डलाई पार्टीको कमजोर नतिजाको जिम्मा लिएर आत्मालोचना गर्नुपर्ने बताएका थिए। उनले ३१ लाख भोटबाट ११ लाखमा सीमित हुनुको जिम्मेवारी प्रचण्डले लिनुपर्ने भन्दै आफू आफ्नो भागको जिम्मेवारी स्वीकार्न तयार रहेको बताएका थिए।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, प्रचण्डलाई आत्मालोचना गर्नुपर्ने आवाज एक–दुई नेताबाट मात्र उठेको हो, अधिकांश नेताहरूले त्यस्तो औचित्य नदेखाएको प्रष्ट पारे।
