माधव नेपाल र झलनाथबीच चर्को मेतभेद, सार्वजनिक स्थानमै आरोपप्रत्यारोप

विराटनगर, १६ साउन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको पछिल्लो अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाएका छन्। खनालको भनाइ सही हो भने उनी पार्टीमा बस्न योग्य नरहेको नेपालले स्पष्ट पारेका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले खनालसँग पार्टीमा रहिरहने नैतिक आधार बाँकी नरहेको टिप्पणी गर्दै राजीनामा दिएर पार्टी छाड्न सुझाव दिएका हुन्।

‘एमाले विभाजन नै गलत थियो’ भन्ने खनालको भनाइबारे पत्रकारले प्रश्न गरेपछि नेपालले भने, “अहिले त एआईको जमाना छ, नबोलेको कुरा पनि स्वर मिलाएर आउने अवस्था छ” भन्दै हल्का व्यंग्य पनि गरे। तर त्यसपछिको भनाइमा उनले कडाइ अपनाउँदै भने, “यदि साँच्चिकै उहाँले त्यस्तो बोलेका हुन् भने पार्टीमा बस्ने ठाउँ छैन। नैतिकता छैन। खुरुक्क राजीनामा दिनुपर्छ, विदा भएर जानुपर्छ।”

खनालले केही दिनअघि इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टी विभाजन गर्नु नै गलत निर्णय भएको आफूलाई महसुस हुँदै गएको बताएका थिए। पत्रकार जगदिश खरेलसँगको कुराकानीमा उनले भनेका थिए, “जतिबेला पार्टी विभाजन गरियो, त्यो नै गलत रहेछ भन्ने ठाउंमा म पुग्दैछु। जुन विद्रोह गरियो, त्यो पुष्टि हुन सकेन। पुष्टि नहुनुको अर्थ गलत भयो भन्ने हुन्छ।”

खनालले एमालेमा फर्किन सक्ने सम्भावना पनि संकेत गर्दै माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक मान्दै, जबज (जनताको बहुदलीय जनवाद) त्यागेर वैज्ञानिक समाजवादको बाटो लिने हो भने एमालेमा पुन: जाने वातावरण बन्न सक्ने धारणा राखेका थिए।

उनको यस्तो अभिव्यक्तिले एकीकृत समाजवादी पार्टीभित्र वैचारिक मतभेद र नेतृत्वप्रति असन्तुष्टि झल्किएको विश्लेषण गरिएको छ। अध्यक्ष माधव नेपालको कडा प्रतिक्रिया पश्चात् खनालको भूमिकाबारे पार्टीभित्र थप बहस चर्कने सम्भावना देखिएको छ।