जनार्दनको सार्वजनिक अभिव्यक्तिप्रति प्रचण्डको कडा आपत्ति

काठमाडौं, साउन १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माको सार्वजनिक अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन् ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले शर्माले पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा बोलेको विषय अनुशासनविपरीत भएको बताएका छन्।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, “पार्टीभित्र छलफल, बहस सबैलाई छुट छ। तर, जनार्दनजीले जुन शैलीमा सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभयो, त्यो विधिभन्दा बाहिरको हो र यसले राम्रो सन्देश दिएको छैन। पार्टीभित्र अनुशासनको पालन अनिवार्य छ।”

पछिल्लो समय उपमहासचिव शर्माले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनको माग गरिरहेका छन्। उनी आगामी महाधिवेशनमा अध्यक्ष प्रचण्डको नेतृत्वलाई चुनौती दिने तयारीमा रहेको बताइँदै आएको छ।

यसै पृष्ठभूमिमा प्रचण्ड–शर्मा सम्बन्ध चिसिँदो देखिएको छ भने उनीहरूबीचको तनाव अहिलेको स्थायी कमिटी बैठकको प्रमुख एजेन्डा पनि बनेको छ।

पार्टीभित्रै नेतृत्वको आलोचना गर्दै खुला रूपमा बोल्न थालेपछि माओवादी केन्द्रभित्रको अन्तरसंघर्ष सतहमा आएको हो। अध्यक्ष प्रचण्डले भने स्पष्ट रूपमा पार्टी अनुशासन नमान्ने गतिविधि स्वीकार्य नहुने संकेत दिएका छन्।