नागरिक उन्मुक्ति पार्टी विभाजित, रेशमले पत्नी रन्जितालाई हटाएर बाबु लालवीरलाई बनाए अध्यक्ष
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ। रञ्जिता श्रेष्ठ नेतृत्वको विरोधमा आयोजित राष्ट्रिय भेलाले उनलाई अध्यक्ष र साधारण सदस्य दुवै पदबाट हटाउँदै संरक्षक रेशम चौधरीका पिता लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको हो।
पार्टी अध्यक्षबाट हटाइएको घोषणा भएको भोलिपल्टै नै आयोजित भेलामा यस्तो निर्णय लिइएको हो। रेशम चौधरीले उक्त निर्णय विधि र प्रक्रियाअनुसार गरिएको दाबी गर्दै पार्टीलाई निकास दिनका लागि आफूहरू बाध्य भएको बताए।
चौधरीले पार्टी कमिटीको सल्लाह र सुझावका आधारमा मात्रै आफूहरूले कदम चालेको स्पष्ट पारे। उनले रञ्जितासँग व्यक्तिगत दूरी नराखिएको बताउँदै पार्टीको आन्तरिक समस्या समाधान गर्नका लागि मात्र यस्तो निर्णय लिइएको बताए।
उनले भने, “हामीले उहाँलाई टाढा राखेका होइनौं। अहिले पनि भनिएको थियो— यहाँ आइ आफ्नो कुरा राख्नुस्। उहाँलाई पार्टीले धेरै पर धकेलेको छैन, तर पार्टीको निकासका लागि यो निर्णय आवश्यक भयो।”
चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नबसेको र पार्टी सञ्चालनमा गम्भीर समस्या देखिएको जनाउँदै नयाँ नेतृत्व आवश्यक भएको धारणा राखे।
नयाँ नेतृत्व चयनसँगै नाउपा दुई धारमा विभाजित भएको छ — एक पक्षमा रञ्जिता श्रेष्ठ, र अर्कोमा रेशम चौधरी नेतृत्वको समूह जसले अब लालवीर चौधरीको अध्यक्षतामा पार्टी सञ्चालन गर्ने घोषणा गरेको छ।
