एमाले केन्द्रीय बैठकमा उमेरहदको विषय उठ्यो, नेताहरूको धारणा व्यक्त गर्ने क्रम जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरूले विभिन्न विषयमा धारणा राख्ने क्रम जारी छ। गण्डकी प्रदेशका सदस्यहरूले आफ्ना विचार राखिसकेका छन् भने अहिले मधेश प्रदेशका नेताहरू धारणा राख्दैछन् ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल भइरहेको छ।
धारणा राख्ने नेतामध्ये अधिकांश अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताबारे केहीले सकारात्मक प्रतिक्रिया दिए पनि बहुसंख्यक नेताहरू ओलीकै समर्थनमा उभिएका छन्।
यसभित्र, केन्द्रीय सदस्य दिवाकर देवकोटाले उमेरहदको विषयमा प्रश्न उठाउँदै भने, “पहिले ७० वर्षे उमेर हद किन राखियो? अहिले किन हटाइयो?”
त्यस्तै, सदस्य कृष्ण पौडेलले पार्टी नेतृत्वकै कारण कार्यकर्तामा निराशा छाएको तर्क गरे। रामपृत रामले नेताहरूको गुटबन्दीले स्थानीय तहमा काम गर्न कठिन भएको बताए।
बैठक भोलिसम्म चल्नेछ भने प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको बोल्ने समय दिइएको छ।
