मन्त्री बलराम अधिकारीको प्रष्टोक्ति : “मेरो स्वर भएको अडियो आयो भने जस्तोसुकै सजाय भोग्न तयार छु”

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूविरुद्ध गरिएको अडियो प्रचार नियोजित र स्वार्थप्रेरित भएको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ लाख घुस लिएको दाबी गरिएको अडियो आफू र मन्त्रालयसँग कुनै सम्बन्ध नरहेको स्पष्ट गरे।

“केही स्वार्थ समूहहरूले मेरो नाम र परिवारलाई मुछेर चरित्र हत्या गर्ने प्रयास गरिरहेका छन्,” मन्त्री अधिकारीले भने, “तथ्यलाई तोडमोड गरेर प्रचार गरिँदैछ। यदि सार्वजनिक अडियोमा मेरो आवाज, मैले केही मागेको वा कुनै आश्वासन दिएको प्रमाणित भयो भने, म जस्तोसुकै सजाय भोग्न तयार छु।”

उनले अडियोमा रहेका व्यक्ति र प्रयोग गरिएको भाषा आफूसँग मेल नखाने बताए। साथै, पत्रकारहरुलाई तथ्यमा आधारित रहेर रिपोर्ट लेख्न आग्रह गर्दै भने, “सोधपुछ गरेर लेख्नुहोस्, तथ्य र प्रमाणमा आधारित भएर मात्रै मूल्यांकन होस्।”

मन्त्री अधिकारीले आफू मात्र होइन, आफ्ना छोरासमेत अनावश्यक रूपमा विवादमा तानिएको भन्दै असन्तुष्टि जनाए। “मेरो छोरालाई पनि यसमा जोडियो, तर उसको ती व्यक्तिहरूसँग भेट नै भएको छैन,” उनले स्पष्ट पारे।

सरुवा प्रक्रिया नियमित प्रकृयाअनुसार भएको भन्दै उनले त्यसमा कुनै व्यक्तिगत संलग्नता नभएको दाबी गरे। साथै, यो विषयमा छानबिन भएमा आफु पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि उनले बताए।

अधिकारीले यो प्रकरणलाई नियोजित बदनाम अभियानको हिस्सा भन्दै यस्ता प्रयासले आफू विचलित नहुने स्पष्ट पारे।