राष्ट्रिय सूचना प्रविधि केन्द्रमा १६ करोड रुपैयाँ भ्रष्टाचार : पूर्वनिर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा
काठमाडौं । उच्च गति कम्प्युटर उपकरण खरिदमा झुटा विवरण तयार गरी करिब १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (NTC) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
०७६ माघ १५ गते भएको ठेक्का सम्झौताअनुसार उच्च क्षमताका कम्प्युटिङ उपकरणहरू खरिद गरिनुपर्ने थियो। तर, कम गुणस्तरका उपकरण जडान गरिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ठूलो अनियमितता भेटिएको हो।
अख्तियारका अनुसार, यो प्रकरणमा करिब १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको छ।
कारबाहीको सिफारिसमा परेकाहरू:
सुनिल पौडेल – तत्कालीन कार्यकारी निर्देशक
सफल श्रेष्ठ – तत्कालीन निर्देशक
रमेश पोखरेल – सहायक निर्देशक
रामशरण गायक – कम्प्युटर इन्जिनियर
निमबहादुर वली – लेखा अधिकृत
अरुण श्रेष्ठ – वर्ल्ड डिस्ट्रीब्युसन नेपाल प्रालि (कान्तिपथ) का अध्यक्ष तथा प्रबन्ध निर्देशक
ठेक्का पाएको कम्पनी वर्ल्ड डिस्ट्रीब्युसन नेपाल प्रालिसमेत मुद्दामा प्रतिवादी बनाइएको छ।
विशेष अदालतमा दायर मुद्दामा उल्लेख छ कि बोलपत्र अनुसार प्रत्येक स्टोरेज कन्ट्रोलरमा २.४ गिगाहर्ज क्षमताको २४-कोर प्रोसेसर हुनुपर्ने शर्त थियो। तर, ओराकल ZFS स्टोरेज अप्लायन्स ZS–2 मा मात्र २.१ गिगाहर्जको प्रोसेसर जडान गरिएको भेटिएको छ।
प्रविधिगत रूपमा २.४ गिगाहर्ज प्रोसेसरको कार्यक्षमता प्रति सेकेन्ड ३०० मिलियन बढी निर्देशन प्रक्रिया (Instruction Processing) गर्नसक्ने हुन्छ, जुन २.१ गिगाहर्जको तुलनामा १४.२८ प्रतिशत बढी हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले उच्च क्षमताको उपकरण देखाएर कम क्षमताको सामग्री जडान गरिएको पुष्टि गरे।
सरकारी निकायमा सूचना प्रविधि जस्तो संवेदनशील क्षेत्रमा समेत ठेक्का प्रक्रिया र उपकरण आपूर्तिमा गम्भीर अनियमितता भएको प्रमाणित भएको अख्तियारको दाबी छ। अब विशेष अदालतले सो मुद्दामाथि सुनुवाइ अघि बढाउनेछ।
