पार्टी नीतिविपरीत कित्ताकाट क्षम्य नहुने महासचिव पोखरेलको चेतावनी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको घोषित नीतिविपरीत हुने गतिविधि र गुटबन्दी क्षम्य नहुने चेतावनी दिएका छन् । उनले पार्टीको राष्ट्रिय महाधिवेशनले पारित गरेका निर्णयमाथि प्रश्न उठाउनु संगठनभित्रको अराजकता र अनुशासनहीनता भएको टिप्पणी गरेका छन् ।

विधान महाधिवेशनको तयारीस्वरूप आयोजित जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलामा सम्बोधन गर्दै पोखरेलले पार्टी विधान र नीतिबारे गम्भीर टिप्पणी गर्दै अहिले उत्पन्न बहसहरू अनावश्यक र अनुशासनविपरीत भएको बताएका हुन् ।

हाल एमालेभित्र ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने विषयमा बहस चलिरहेको छ। महासचिव पोखरेलले यी व्यवस्थाहरू हटिसकेको भन्दै स्पष्टीकरण दिएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले सार्वजनिक रूपमा आपत्ति जनाउँदै छलकपट नगर्न चेतावनी दिएका थिए ।

पोखरेलले कुनै पनि प्रतिनिधिले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा आफैँ सहभागी भएर पारित गरेका प्रावधानमाथि अहिले आएर प्रश्न उठाउनु अनैतिक भएको बताए । उनले भने, ‘जुन व्यवस्थामा तपाईं स्वयं सहभागी भएर अनुमोदन गर्नु भयो, त्यसलाई अहिले आएर चुनौती दिनु अनुशासनविपरीत मात्र होइन, अराजकतापूर्ण हो ।’

पोखरेलले पार्टीका घोषित नीतिको अवज्ञा गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाए । उनले खासगरी एमालेको नेतृत्वमा सरकार बनेपछि पार्टीविरुद्ध आरोप र आलोचना बढेको दाबी गरेका छन् ।

उनले कटाक्ष गर्दै भने, ‘कहिले सरकारमा लैजानु पर्‍यो भनेर बालकोट धाउनेहरू अहिले लोकप्रियताको नाममा एमाले र यसको नेतृत्वलाई गाली गर्न अग्रपङ्क्तिमा छन् ।’

पोखरेलले राजावादी र माओवादी शक्ति कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा रहेको भन्दै तिनले जानाजान एमालेमाथि मात्र आक्रमण गरिरहेको टिप्पणी गरेका छन् ।

आगामी भदौ २०–२२ मा हुने कार्यक्रम विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन भन्दै पोखरेलले अहिले नेताहरूको नाममा गुट बनाउने या लाइन तान्ने कुनै औचित्य नरहेको बताए । उनले कार्यकर्ताहरूलाई नीति र नेतृत्व निर्माणको भिन्नता बुझ्न पनि आग्रह गरेका छन् ।