गुल्मीका तीन युवा कृषक सम्मानित, पशुपालन र कृषि क्षेत्रमा योगदानको उच्च कदर

गुल्मी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाका तीन युवालाई कृषिका विविध विधामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ।

सम्मान प्राप्त गर्ने कृषकहरूमा धुर्कोट गाउँपालिका–६ का मेघनाथ अर्याल (अर्याल पशुपंक्षी फार्म), इस्मा गाउँपालिका–३ का गोकर्ण नेपाली (ग्यालेक्सी कृषि फार्म) र गुल्मीदरबार गाउँपालिका–रेसुङ्गा एग्रो एण्ड रिसर्च फार्मका विशाल थापा रहेका छन् ।

गोकर्ण नेपालीलाई ‘सर्वोत्तम कृषक’को रूपमा नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको हो। उनले १२० रोपनी क्षेत्रफलमा घाँस खेती र नर्सरी सञ्चालन गर्दै आधुनिक तथा परम्परागत कृषि प्रविधिको समायोजनमार्फत उत्पादन र दक्षतामा उल्लेखनीय वृद्धि गरेका छन्। उनका प्रयासले गाउँका अन्य कृषकलाई पनि प्रेरणा मिलेको छ।

मेघनाथ अर्याल र विशाल थापालाई ‘उत्कृष्ट कृषक’का रूपमा सम्मान गरिएको हो। अर्यालले ३५ वटा भैंसी पालेर दैनिक १०० लिटर दूध उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन्। शहरको जीवनशैली त्यागेर गाउँमै करोडौं लगानी गरी पशुपालनमा लागेका उनी कृषि क्षेत्रको सफल उदाहरण बनेका छन्।

विशाल थापा भने १५० वटा विभिन्न जातका बाख्रा पालन गर्दै बाख्रापालन व्यवसायमा नयाँ सम्भावनाहरू खोल्दै आएका छन्। साथै, उनले अन्य कृषकलाई तालिम र जानकारीमार्फत सहयोग पुर्‍याउँदै आएका छन्।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले एक विशेष कार्यक्रमबीच सम्मानित कृषकहरूलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कसरी भयो छनोट?

कार्यालय प्रमुख हुमाकान्त पाण्डेका अनुसार, जिल्लाभर आवेदन आह्वान गरिएको थियो। प्राप्त आवेदकहरूबाट बाख्रापालन, भैंसीपालन, घाँस खेती तथा पशुपालन विधामा विशिष्ट योगदान दिने कृषकहरूको मूल्यांकन गरी छनोट गरिएको हो।

यस सम्मानले युवाहरूलाई कृषि तथा पशुपालन क्षेत्रमा थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।