सांसद गौतमको भनाइमा प्रधानमन्त्री सचिवालयको प्रश्न: “स्पेनबाट फर्किन बाँकी को हो ?”
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमको अभिव्यक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रतिक्रम दिँदै स्पेन भ्रमण टोलीमा सहभागीमध्ये को–को नफर्किएको हो भन्ने स्पष्ट जानकारी माग गरेको छ।
गौतमले संसदमा आकस्मिक समयमा बोल्दै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति पार्टीको धारणा राख्ने क्रममा भनेकी थिइन्, “स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्। यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन। तर यो अत्यन्तै गम्भीर विषय हो।”
प्रधानमन्त्री ओली असार १४ गते संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका थिए। टोली असार २० गते स्वदेश फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।
सांसद गौतमको भनाइपछि प्रधानमन्त्रीको सचिवालयले ती दाबी प्रमाणसहित गर्न आग्रह गर्दै, “स्पेन भ्रमणमा गएकामध्ये को–को नफर्किएका हुन्?” भन्ने प्रश्न उठाएको हो।
यही प्रसंगलाई लिएर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा आपत्ति जनाउँदै सो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन्। उनले सांसद गौतमको भनाइ भ्रम फैलाउने किसिमको भएको भन्दै जिम्मेवार अभिव्यक्तिको अपेक्षा गरिएको बताए।
सरकारले मानव तस्करी र भ्रमणका नाममा हुने दुरुपयोगजस्ता विषयमा गम्भीर कदम चाल्नुपर्ने भन्दै उठाइएको सवाल संसदमा अब थप बहसको विषय बन्ने संकेत देखिएको छ।
