तिब्बतमा सम्भावित भारी वर्षा : भोटेकोसी–सुनकोसी आसपास सतर्क रहन प्रशासनको आग्रह
काठमाडौँ । सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयले चीनको तिब्बत क्षेत्रमा विशेषगरी न्यालम आसपास भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले मंगलबार जारी गरेको सूचनामा छिमेकी चीनबाट प्राप्त जानकारी अनुसार न्यालम क्षेत्रमा लगातार वर्षा भइरहेको र आज राति थप भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको उल्लेख गरिएको छ। यसले भोटेकोसी र सुनकोसी नदीमा जलस्तर बढाउने सम्भावना रहेकाले नदी किनार तथा आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको हो।
सूचनामा भनिएको छ, “छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र न्यालममा वर्षा भइरहेको र आज राति थप बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोसी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने हुँदा बासिन्दालाई सतर्क रहन अनुरोध गरिन्छ। साथै, अरनिको राजमार्गको बन्देउदेखि लिपिङसम्मको खण्डमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन पनि अनुरोध छ।”
यसअघि भोटेकोसीमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। हालसम्म बाढीका कारण २० जना बेपत्ता छन् भने ७ जनाको शव फेला परिसकेको छ।
प्रशासनले स्थानीयवासी, यात्री तथा सवारी चालकहरूलाई सम्भावित जोखिमप्रति सचेत रहन र आवश्यक परेमा सुरक्षित स्थानमा सर्न समेत आग्रह गरेको छ।

