राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकलाई बजेटमा प्राथमिकता दिइएको छ : भौतिक पूर्वाधारमन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई विशेष प्राथमिकता दिइएको बताएका छन्।

बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले फास्ट ट्र्याक (द्रुतमार्ग) निर्माणका लागि यो वर्ष २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब रुपैयाँले बढी हो।

“बजेट अर्थ मन्त्रालयमार्फत विनियोजन भए पनि सिलिङ भने हाम्रो मन्त्रालयमार्फत हुने हो,” उनले स्पष्ट पारे, “यो वर्ष फास्ट ट्र्याकमा गतवर्षभन्दा २ अर्ब बढी बजेट विनियोजन गरिएको छ।”

मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण भौतिक पूर्वाधारमा ठूलो क्षति भएको उल्लेख गर्दै त्यसको पुनर्निर्माणका लागि १९ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको जानकारी पनि दिए।

उनका अनुसार राष्ट्रिय राजमार्ग, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय तथा रणनीतिक महत्वका पूर्वाधार र निर्वाचन क्षेत्रका रणनीतिक सडकहरूलाई समानुपातिक ढंगले बजेट विनियोजन गरिएको छ। “सबै निर्वाचन क्षेत्रमा सन्तुलन मिलाउने गरी बजेटको बाँडफाँट गरिएको छ,” दाहालले भने।

त्यस्तै, बजेट विनियोजनको पुरानै शैलीमा सुधार ल्याउन नसकिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले आगामी दिनमा बजेट निर्माण प्रक्रियालाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।