‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक, नेपाली भाषा-संस्कृति झल्किने कथावस्तुमा निर्माण

काठमाडौँ । आगामी असार २७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली भाषा, साहित्य, कला र यसको ऐतिहासिक महत्वलाई उजागर गर्न खोजिएको छ ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक मित्र प्रधानका अनुसार चलचित्र नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र संस्कारबारे जानकारी दिने उद्देश्यसहित तयार पारिएको हो।
निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो फिल्म हरेक नेपालीका लागि आवश्यक र प्रेरणादायी हुने दाबी गरे।

कलाकार विजय बरालले चलचित्रले नेपाली भाषा, साहित्य र कलाको महत्व उजागर गर्ने बताए भने विल्सन विक्रम राईले कथासँग मेल खाने गीत लेखेको र फिल्म निकै नजिकबाट अनुभव गरेको हुँदा उत्कृष्ट बनेको बताए।

नायिका आयुषा समालले आफू विदेशमा रहेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागिपरेको अनुभव चलचित्रमार्फत प्रस्तुत गरेको उल्लेख गरिन्।

इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र प्रधान प्रस्तुतकर्ता रहेका छन् भने निर्माता ज्ञानबहादुर (रोशन) प्रधान हुन्।
अमेरिकामा बसोबास गर्ने साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको फिल्मको कथा लेखन शिवम् अधिकारीले गरेका हुन्।

चलचित्रमा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सत्यम रानाको सिजिआई रहेको छ।

संगीत दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईले दिएका छन् भने गीतमा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र अनिश अधिकारीको शब्द समावेश छ।
चलचित्रको वितरण आर आर फिल्म्सले गर्नेछ।