ईसीडीलाई दुई वर्ष बनाउनु व्यावहारिक र आवश्यक : सांसद चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक्रमलाई दुई वर्षे बनाउनु व्यवहारिक र आवश्यक रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुँदै गर्दा भण्डारीले ईसीडीलाई बाहिर राखेर शिक्षा नीति बनाउने सोचलाई अव्यवहारिक भन्दै आलोचना गरे।

‘ईसीडी बिना शिक्षा प्रणाली अपूरो हुन्छ,’ उनले भने, ‘खर्च छैन भने अनावश्यक खर्च कटौती गरेर भए पनि ईसीडीलाई दुई वर्षे बनाउनुपर्छ। महँगो सवारीसाधन खरिद कटौती गरेरै सही, तर यो कार्यक्रम कार्यान्वयन गर्नुपर्छ।’

उनले शिक्षा नीतिमा बारम्बार परिवर्तन हुनु नहुने भन्दै उपसमितिको निर्णयको स्वागत गरे। ‘मन्त्री फेरिँदैमा नीति फेरिनु हुँदैन। उपसमितिको प्रस्ताव सराहनीय छ, यसलाई संशोधन नगरी नै पारित गर्नुपर्छ,’ भण्डारीले भने, ‘सदनले पनि यसलाई समर्थन गर्नेछ।’

नेकपा एमालेकी सांसद सरिता भुषालले पनि ईसीडीलाई दुई वर्षे बनाउने प्रस्तावमा समर्थन जनाउँदै भनिन्, ‘एक वर्ष पर्याप्त हुँदैन। सबै बालबालिकालाई समान अवसर दिन दुई वर्ष अनिवार्य बनाइनुपर्छ।’