अमेरिका–चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, भारतसँग पनि छिट्टै सम्झौता हुने अपेक्षा

बैङ्कक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापारसम्बन्धी एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको बताएका छन्। उनले भारतसँग पनि निकट भविष्यमा यस्तै सम्झौता हुने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीसँगको कुराकानीमा यो सम्झौता हप्ताको सुरुमै सम्पन्न भएको जानकारी दिएका हुन्। यद्यपि, ट्रम्प र लुटनिक दुवैले सम्झौताका विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

‘हामीले भर्खरै चीनसँग सम्झौतामा हस्ताक्षर गर्‍यौँ,’ ट्रम्पले बिहीबार राति भने। वाणिज्यमन्त्री लुटनिकका अनुसार दुई दिनअघि सम्झौतामा औपचारिक हस्ताक्षर र छाप लगाइएको हो।

यो सम्झौता जेनेभामा मे महिनाको सुरुमा भएको प्रारम्भिक वार्ताको परिणाम हो। वार्तापछि दुवै देशले भन्सार शुल्क बढाउने तयारी रोकेको जनाइएको छ। ती शुल्कहरूले द्विपक्षीय व्यापारमा ठुलो अवरोध ल्याउने जोखिम थियो।

पछिल्लो चरणको वार्ता लन्डनमा सम्पन्न भएको थियो, जसले सम्झौताका लागि स्पष्ट रूपरेखा तय गर्‍यो। ट्रम्पले त्यसैलाई आधार बनाएर उक्त सम्झौतालाई औपचारिकता दिएका हुन्।

‘राष्ट्रपतिले यस्ता सम्झौताहरूमा सिधा संलग्न हुन चाहनुहुन्छ। उहाँ सम्झौता निर्माता हुनुहुन्छ। हामी एकपछि अर्को सम्झौता गर्दै जानेछौं,’ लुटनिकले भने।

चीनले भने औपचारिक रूपमा नयाँ सम्झौताबारे घोषणा गरेको छैन। तर यसै हप्ता चीनले दुर्लभ खनिज तत्व र उच्च-प्रविधिमा प्रयोग हुने सामग्रीहरूको निर्यात अनुमति प्रक्रिया छिटो बनाउने घोषणा गरेको थियो।

चीनले अप्रिलमा सातवटा दुर्लभ खनिजमा निर्यात अनुमति अनिवार्य बनाएको थियो। ती खनिजहरू विद्युतीय सवारी, हावा टर्बाइन, रोबोटजस्ता उत्पादनमा प्रयोग हुने भएकाले यसमा नियन्त्रण हुनुले विश्वव्यापी आपूर्ति शृंखलामा असर पार्न सक्ने चिन्ता अमेरिकाले व्यक्त गर्दै आएको छ।

मे महिनाको जेनेभा सम्झौताले पनि ट्रम्प प्रशासनद्वारा थोपारिएको भन्सार शुल्कहरू हटाउने वा घटाउने आधार तयार पारेको थियो। तर, केही शुल्कहरू—जसमा स्टिल, एल्युमिनियम तथा फेन्टानिलको व्यापारसम्बन्धी नीतिहरू छन्—अहिलेसम्म कायम नै छन्।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावका कारण दुवै देशको आन्तरिक अर्थतन्त्रमा असर देखिएको छ। अमेरिकाको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा ०.५ प्रतिशतले घटेको छ, भने चीनमा कारखाना नाफा मे महिनामा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतभन्दा बढी घटेको छ।

ट्रम्प प्रशासनले भारतसहित अन्य देशहरूसँग पनि व्यापार सम्झौता गर्ने तयारी भइरहेको संकेत दिएको छ। ‘हामी एकपछि अर्को सम्झौता गर्दै अगाडि बढ्नेछौँ,’ लुटनिकले दोहोर्‍याए।