रेसुङ्गा नगरपालिकाको पहल: एसईईमा ४.० जीपीए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ पुरस्कार

गुल्मी । रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम ४.० जीपीए हासिल गर्ने विद्यार्थीलाई नगद १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा यो योजना सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, नगर क्षेत्रभित्र रहेका विद्यालयहरूबाट एसईई परीक्षा दिई ४.० जीपीए ल्याउने विद्यार्थीलाई “नगर प्रमुख शैक्षिक पुरस्कार” अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, सोही विद्यार्थीले कक्षा ११ र १२ नगरपालिकाभित्रकै सामुदायिक विद्यालयमा अध्ययन गरेमा कक्षा १२ को अन्त्यमा थप ५० हजार रुपैयाँ छात्रवृत्तिका रूपमा उपलब्ध गराइनेछ ।

नगरपालिकाका अनुसार, यो योजना विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टतामा प्रोत्साहित गर्न र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो ।

नगरप्रमुख पन्थीले यस्तो कार्यक्रमले मेहेनती, लक्ष्यमा केन्द्रित विद्यार्थीहरूलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरे ।