कालीगण्डकी करिडोर सडक तीन दिनदेखि अवरुद्ध, यात्रुहरू बीच बाटोमै अलपत्र

गुल्मी । गुल्मीस्थित कालीगण्डकी करिडोर अन्तर्गत हर्मीचौर–अर्बेनी सडक खण्डमा गएको सुक्खा पहिरोका कारण सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

गत शुक्रबार अपराह्नदेखि गरगरे क्षेत्रमा पहिरो खसेपछि सडक बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । कालीगण्डकी गाउँपालिका केन्द्र पुर्तिघाट तथा बुटवल जाने यात्रुहरूको आवाजाही ठप्प भएको छ ।

सडक खुलाउन तीनवटा डोजर तयारी अवस्थामा राखिए पनि माथिबाट लगातार सुक्खा पहिरो झर्दै आएको हुँदा काम अगाडि बढ्न नसकेको गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी टोली पहिरो प्रभावित क्षेत्रमा खटाइएको छ । साथै, यात्रुहरूलाई हर्मीचौर–देउराली–अर्बेनीकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

“पहिरो झर्ने क्रम नरोकिएकाले सोमबार (आज) पनि सडक खुल्ने सम्भावना छैन,” सारुले भने । लामो समयसम्म मुख्य सडक बन्द हुँदा जनजीवन प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्ष थापाले स्थानीयहरूलाई उचित जवाफ दिन पनि कठिन भइरहेको उल्लेख गरे ।