ग्वार्को ओभरपास उद्घाटन : प्रधानमन्त्रीले ट्राफिक प्रहरीलाई रिबन काट्न लगाए

काठमाडौं । चार वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको ग्वार्को ओभरपास शुक्रबार उद्घाटन भयो। तर उद्घाटन कार्यक्रममा एउटा अनौठो दृश्य देखियो—प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन आफैं काट्नुभन्दा सट्टा ट्राफिक प्रहरी प्रमुखलाई त्यो जिम्मा दिए।

उद्घाटन समारोहका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष तयारी गरेको थियो। ओभरपासको छेउमा शिलालेख राखिएको थियो, जसमा “प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन” गरिएको उल्लेख गरिएको थियो। रिबन काटेर औपचारिक उद्घाटन गर्ने योजना थियो। तर प्रधानमन्त्री ओलीले त्यहाँ उपस्थित मन्त्रालयका सचिव केशवकुमार शर्माबाट कैंची लिन अस्वीकार गर्दै, ट्राफिक प्रहरीलाई रिबन काट्न निर्देशन दिए।

प्रधानमन्त्रीको आग्रहपछि उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी अगाडि आए र प्रधानमन्त्रीको हातबाट कैंची लिएर रिबन काटे। त्यसपश्चात् उपस्थितहरुले ताली बजाएर स्वागत गरे।

एसएसपी अधिकारीले भने, “प्रधानमन्त्रीज्यूले ट्राफिकलाई सहज हुने काम भएको भन्दै मलाई कैंची दिनुभयो, रिबन मैले काटें।”
१७ करोड लागत, पटक–पटक म्याद थप

ग्वार्को ओभरपासको निर्माण २०७८ फागुन १२ गते ‘आशिष–समानान्तर रेलिगेर जेभी’ कम्पनीसँग भएको ईपीसी मोडेलअन्तर्गतको ठेक्काबाट सुरु भएको थियो। सुरुवाती सम्झौता अनुसार लागत १७ करोड ६ लाख रुपैयाँ थियो, तर निर्माण ढिलाइका कारण अन्तिम लागत ३१ करोड ४६ लाख रुपैयाँ नाघ्यो।

निर्माण अवधिमा तीनपटक म्याद थप गर्नु पर्‍यो। निर्माण व्यवसायीले समयमै काम नसकाएपछि सरकारले करीब १ करोड ४७ लाख रुपैयाँ हर्जाना असुल गरेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए।

ओभरपास अन्तर्गत २० मिटर स्पानसहित चार लेनको पुल र ५०० मिटर लामो पहुँचमार्ग (अप्रोच रोड) निर्माण गरिएको छ। बालकुमारी र सातदोबाटोबाट ओभरपासमा चढ्न सकिने र्‍याम्प समेत बनाइएको छ।

ओभरपासको माध्यमबाट चक्रपथको बीचको चार लेन सडकलाई माथि उठाएर बनाइएको संरचनाले मुनिबाट मंगलबजार–इमाडोलतर्फका सवारी निर्वाध सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। यसबाट ट्राफिक जाम न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।