एमसीसी अन्तर्गतको परियोजना कार्यान्वयनमा अवरोध हुने छैन : अमेरिका
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार एमसीसी अन्तर्गतको परियोजनालाई निरन्तरता दिइनेछ र यो कार्यान्वयनमा कुनै अवरोध हुने छैन ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी विदेशी सहायता कार्यक्रमको निरन्तर समीक्षाको क्रममा सन् २०२५ को फेब्रुअरीमा अमेरिकी स्टेट सेक्रेटरीले ९० दिनको लागि केही सहायता कार्यक्रमहरू स्थगन गर्ने निर्णयमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष छुट प्रदान गर्न स्वीकृति दिनुभएको थियो ।”
यस छुटका आधारमा एमसीसी परियोजना सुचारु रूपमा अगाडि बढ्ने र पूर्ण कार्यान्वयनमा रहने सुनिश्चित भएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, एमसीसी र नेपालस्थित अमेरिकी नियोगले परियोजनाको रचनात्मक समीक्षा तथा प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग नियमित संवाद जारी राखेका छन् । परियोजनाका सम्भावित नयाँ प्रावधानहरू नेपाल सरकारको प्राथमिकतासँग मेल खाने गरी समायोजन गरिने पनि उल्लेख गरिएको छ ।
अमेरिकी दूतावासले एमसीसीले पारदर्शिता, सुदृढ शासन प्रणाली, प्रभावकारी सेवा वितरण तथा जोखिम व्यवस्थापनमा विशेष ध्यान दिँदै अर्थ मन्त्रालय र एमसीए नेपालसँग नजिकबाट सहकार्य गरिरहेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, “संयुक्त राज्य अमेरिका नेपालको समृद्धि, दीर्घकालीन आर्थिक विकास तथा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध छ ।”
