‘नीलो रिबन’ लगाएर संसद पुगेका रास्वपा सांसद कांग्रेसको टिप्पणीपछि आक्रोशित

काठमाडौं । भिजिट भिसा प्रकरणलाई मानव तस्करीको रूपमा लिएर विरोध जनाउँदै ‘नीलो रिबन’ लगाएर संसद पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू नेपाली कांग्रेसको आलोचना र निष्कासनको मागपछि आक्रोशित भएका छन् ।

मानव तस्करीविरुद्धको अन्तर्राष्ट्रिय अभियानमा प्रयोग हुने ‘ब्लू रिबन’को प्रतीकस्वरूप रास्वपाका सांसदहरूले मंगलबार नीलो रिबन लगाएर संसदमा उपस्थिति जनाएका थिए। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा वेल घेराउ र नाराबाजी जारी राखेका थिए।

तर, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूको पोशाक संसदको मर्यादाविपरीत रहेको भन्दै नियमावलीको उल्लंघनको आरोप लगाउँदै नियम ३१ अनुसार निष्कासन गर्न सकिने विषय उठाए। “नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन? भोलि कसैले हाफ पाइन्टमै आए भने के संसदको गरिमा रहन्छ?” भन्ने उनको टिप्पणीले रास्वपाका सांसदहरू आक्रोशित बने।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यसको प्रतिवाद गर्दै भने, “सदनमा रातो मफलर लगाउन पाइन्छ, तर नीलो रिबन लगाउन नमिल्ने भन्ने कुन नियमावली हो?” उनका अनुसार विरोध शान्तिपूर्ण र सभ्य रहेको छ।

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि कांग्रेसको आलोचना गर्दै भने, “हामी माइक भाँच्न, कुर्सी फोड्न आउँदैनौं, तर नागरिकको आवाज उठाउन आउँछौं। हाम्रो शान्तिपूर्ण विद्रोहले अपराधी र भ्रष्टाचारको मन पोल्नेछ।”

सांसद सोविता गौतमले भने मानव तस्करीजस्तो गम्भीर विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफूहरू संसदमा निरन्तर आन्दोलनरत रहेको बताइन्। “विरोधका अनेकौं आयाम हुन्छन्,” उनले भनिन्, “निलो सल मानव तस्करीविरुद्धको ऐक्यबद्धताको संकेत हो। नियमापत्ति भयो भने संसदबाट निकाल्नुस्, तर हामी शान्तिपूर्ण विरोधमा उभिन्छौं।”

गौतमले कांग्रेसका उपसभापति घनराज गुरुङले विपक्षी हुँदा संसद्मै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुटपिट गर्न झम्टिएको घटनाको स्मरण गर्दै त्यसबेला पोशाकभन्दा ठूलो अमर्यादा भएको संकेत गरिन्।

पोशाकसम्बन्धी विवाद बढेपछि सभामुख देवराज घिमिरेले ‘नीलो स्कार्फ’ प्रकरणमा रास्वपाका सांसदहरूले स्वनियमन अपनाउनुपर्ने टिप्पणी गरेका छन्।