रास्वपालाई कांग्रेसको प्रश्न : ‘मानव तस्करी’ को परिभाषा स्पष्ट होस्
काठमाडौं — नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संसद्मा लगाइरहेको ‘मानव तस्करलाई कारबाही गर’ नारासम्बन्धी स्पष्टीकरण माग गरेको छ। कांग्रेसकी सचेतक सुशिला थिङले उक्त आरोप कसलाई लक्षित गरिएको हो र त्यसको कानुनी परिभाषा के हो भन्ने स्पष्ट हुनुपर्ने बताएकी छन्।
सोमबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेल बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला थिङले सभामुखसँग नियमापत्तिका लागि समय मागिन्।
सभामुखले समय दिएपछि उनले भनिन्, “यहाँ आपत्तिजनक शब्दहरू प्रयोग भए, जसमध्ये मानव तस्करीजस्ता गम्भीर विषय उठाइयो। यस्तो संवेदनशील विषयबारे प्रष्ट पार्नुपर्छ— मानव तस्कर भनिएको व्यक्तित्व को हो?”
उपसभामुखप्रति संकेत
थिङले यसक्रममा अप्रत्यक्ष रूपमा उपसभामुख इन्दिरा रानामगरको पुरानो भिसा सिफारिस प्रकरणप्रति संकेत गर्दै थपेकी छन्, “मानव तस्करीको परिभाषा के हो? के पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाउनु मानव तस्करी अन्तर्गत पर्छ? कुन सन्दर्भमा यो आरोप लगाइएको हो, त्यसबारे स्पष्ट हुनुपर्छ।”
रास्वपाले गृहमन्त्री रमेश लेखकविरुद्ध आवाज उठाइरहेका बेला कांग्रेसले उपसभामुख रानाको विषय फेरि उजागर गरेपछि संसदमा आरोप–प्रत्यारोप थप चर्किएको छ।
