धवल शमशेर ३ लाख धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । रिहापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यले आफूलाई फसाउन खोजेपनि अदालतले न्यायोचित निर्णय गरेको बताएका छन् ।

अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले भने, “राज्यले हामीलाई फसाउने प्रयास गर्‍यो, तर अदालतले बुझेर धरौटीमा छोडेको छ। अब हामी पूर्ण न्यायको आशा राखिरहेका छौं ।”

राणाले राजधानीको तीनकुनेमा भएको आन्दोलनबारे टिप्पणी गर्दै हिंसाको जिम्मेवार राज्य भएको आरोप लगाए। “शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गर्‍यो, जसको परिणामस्वरूप हिंसा भयो। त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ,” उनले भने।

‘राजावादी आन्दोलन हरायो’ भन्ने प्रश्नमा उनले अस्वीकार गर्दै दोस्रो चरणका तयारीमा जुटिरहेको बताए। “आन्दोलन हराएको होइन, हामी तयारीमै छौं। वर्षा सुरु भएकाले पनि केही ढिलो भयो, तर आन्दोलन शान्तिपूर्ण तरिकाबाट अघि बढ्छ,” उनले स्पष्ट पारे।

प्रहरीको बोलावटमा समयमा उपस्थित नभएको विषयमा राणाले भने, “बयान र बहसका लागि धेरै व्यक्ति थिए। हामी त्यसबेला गएका भए २०–२५ दिन थुनिनुपर्ने अवस्था आउँथ्यो। हामीले अदालतको कानुनी अधिकारभित्र रहेर सुविधा उपयोग गरेका हौं।”

उनले राप्रपा नेता रविन्द्र मिश्र पनि छिट्टै प्रहरीसमक्ष उपस्थित हुने विश्वास व्यक्त गरेका छन् ।