रास्वपाको नाराबाजीबीच सवा ३ घण्टासम्म संसद बैठक सञ्चालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तर नाराबाजीबीच आइतबार प्रतिनिधि सभाको बैठक सवा ३ घण्टा सञ्चालनमा रह्यो ।
रास्वपाका सांसदहरू बैठकभर वेल घेरेर नाराबाजीमा उत्रिएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठक बहिष्कार गरे ।
विरोधपूर्ण वातावरणबीच पनि बैठक ३ घण्टा १७ मिनेटसम्म सञ्चालनमा रह्यो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्न प्रस्ताव पेश गरे ।
त्यस्तै, बैठकमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पनि पेस गरियो । सभामुखले प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।


रास्वपामाथि कांग्रेसको प्रश्न : ‘सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ?’
आइतबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसदहरूले रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई लिएर उठाएको नैतिकताको प्रश्नमाथि कडा टिप्पणी गरे ।
कांग्रेस सांसदले भने, “अख्तियारले छानबिन गरिरहेको विषयमा मन्त्रीको राजीनामा माग गर्नेहरूले आफ्नै पार्टीका सभापति रवि लामिछानेलाई जेलमा हुँदा पनि नेतृत्वमा राखेको नैतिकता कहाँ गयो?”
उनले रास्वपाका सभापति लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा चलिरहेको र सर्वोच्च अदालतको आदेशमा थुनामा राखिएको व्यक्तिलाई नेतृत्वमा राख्ने पार्टीले नैतिकताको पाठ पढाउनु अनुचित भएको बताए ।
उनले रास्वपालाई आफ्नै संगठनभित्रको नैतिकता हेरेर मात्र अरुलाई शिक्षा दिन सुझाव दिए ।


‘माओवादी झुकेको छैन, सहमति निष्पक्ष छानबिनका लागि हो’ : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा माओवादीले कुनै सम्झौता गरेको वा सरकारसँग झुकेको भन्ने आरोप गलत भएको प्रस्ट पारेका छन् ।
प्रतिनिधिसभाको बजेट छलफलमा बोल्दै उनले भने, “यो विषय रास्वपा, माओवादीलगायत विपक्षी दलहरूको संयुक्त प्रयासबाट संसदमा उठेको हो । अहिले पनि मुख्य कुरा भनेको निष्पक्ष छानबिन हो ।”
उनका अनुसार सरकारसँग भएको संवाद र आम जनभावनालाई ध्यानमा राख्दै गृहमन्त्रीले राजीनामा नदिए पनि निष्पक्ष छानबिन हुने प्रतिवद्धता जनाएपछि माओवादीले संसद सञ्चालनमा साथ दिएको हो ।
पुनले रास्वपालाई पनि सहमतिमा आउन आग्रह गर्दै संसदमार्फत आवाज उठाउने वातावरणमा सहभागी हुन आग्रह गरे ।
उनले अग्नि सापकोटाविरुद्धको मुद्दा र संसद खुलाउने सहमतिबीच कुनै सम्बन्ध नरहेको र माओवादी गृहमन्त्रालयबाट डराएको भन्ने आशंका निराधार भएको बताए ।
अन्त्यमा, उनले सभामुखसहित प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत मिलेर समाधान निकाल्नुपर्ने आवश्यकता औंल्याए ।

नाराबाजीकाबीच संसद् चलाउनु दादागिरी हो : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले अवरोधका बीच प्रतिनिधि सभाको बैठक चलाएको भनेर सभामुखमाथि नै प्रश्न उठाएको छ । रास्वपाका सांसदहरू गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसदहरू भने आफ्नो सिटबाट उठेर विरोध गरिरहेका छन् ।

तर, सभामुखले प्रतिनिधि सभाको बैठक अगाडि बढाएका छन् । यस्तो गर्नु उचित नहुने राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको आग्रह छ । ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ रु’ प्रमुख सचेतक शाहीको प्रश्न छ ।

संसद्मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए । अन्यथा, विरोधका बीच संसद चलाउनु दादागिरी हुने उनको आग्रह छ । वैठकमा धेरैबेर उभिएका राप्रपा सांसद पछि वैठकबाट बाहिरिएका थिए ।