लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्यो : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकार र नेकपा (माओवादी केन्द्र) बीच भएको पछिल्लो समझदारी ‘लुटतन्त्रको रक्षाका लागि’ भएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले विगत १८ दिनदेखि संसदमा भइरहेको गतिरोधलाई ‘नाटक’ को संज्ञा दिए । उनले प्रमुख प्रतिपक्षी दलका नेताले ‘वीरतापूर्वक आत्मसमर्पण’ गरेको भन्दै कटाक्ष गरे ।
“१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ, देशले देखिरहेको छ,” लिङ्देनले भने, “अहिले प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो। यो हुने नै यही थियो ।”
उनले थपे, “उहाँले गणतन्त्रको रक्षाका लागि भन्नुभयो। गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्ने कुरा आम जनताले बुझेका छन् ।”
