नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी; राजीनामा नदिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै राजीनामा नदिने अडान दोहोर्याएका छन् । उनले आफू पदमा बस्न पूर्ण रूपमा योग्य रहेको प्रतिनिधिसभाको बैठकमा बताए ।

गृहमन्त्री लेखकले भने, “ममाथि कुनै तथ्य र प्रमाणसहित दोष देखिन्छ भने म कुर्सीमा बस्न अयोग्य ठहर्छु, त्यो मलाई थाहा छ । तर, अड्कल र आशङ्काको भरमा, कुनै प्रमाण वा जाहेरी नै नभएको, उजुरी नै नभएको विषयमा पद त्याग गर्नुपर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन ।”

उनले प्रमाणबिना कसैको चरित्र हत्या गर्नु संसदको मर्यादाविपरीत हुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै गृहमन्त्री लेखकले पार्टी कार्यालयमा मानिसहरूलाई बोलाएर आफ्नाविरुद्ध नक्कली पीडित खडा गरी उजुरी दर्ता गराउने प्रयास भइरहेको आरोप लगाए ।

उनले पार्टी कार्यालयमा बोलाएर कीर्ते काम गरेर आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्ने काम भइरहेको भन्दै, यस्ता कीर्ते उजुरी तयार गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिए ।