गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका विद्यार्थी संगठनद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलका विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपालगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर अवरुद्ध गरेका बेला विद्यार्थी संगठनहरुले माइतीघरमा प्रदर्शन गरेका हुन ।

उनीहरूले नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर छानविन गरिरहेको छ । नेपाली कांग्रेसले जसले गल्ती गर्यो उसैले सजाय भोग्ने भन्दै गृहमन्त्रीले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको छ । हिजो वसेको पदाधिकारी वैठकले सो निर्णय गरेको हो ।