ओली सरकारको गलत काम जनतामा लान सके कांग्रेसको भविष्य उज्ज्वल हुन्छ : शेखर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले गरेको गलत कामलाई गलत भन्ने सके कांग्रेसको भविष्य उज्ज्वल रहेको बताएका छन् ।
नेपाल नाई संघको ३५औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसका नेता कार्यकर्ताहरूले गलतलाई गलत भन्न सिक्नुपर्ने बताएका छन् ।
कोइरालाले भने, “कति बोलेको भन्छन्, गाह्रो स्थिति छ, बोलेन भने किन बोलेन भन्छन्, बोल्यो भने किन बोलेको भनेर आइरहेको छ । तर, हामीहरूले गलत काम गर्न हुँदैन । हामी बीपी कोइरालाका चेलाहरू भयौँ । हामीले समाजमा गलत प्रचार हुने काम गर्न हुँदैन । जसले कांग्रेसलाई कमजोर बनाओस्, त्यस्ता काम हामीहरूले नगरौँ ।’
कांग्रेस अहिले सरकारमा भएपनि सत्तामा नभएको दोहोर्याउँदै कोइरालाले भने, “सत्तामा एमाले छ । सरकार बस्ने मन्त्रीहरू र हाम्रो सभापति सहकार्य गरेर अगाडि बढ्नुहोस् । हामी बाहिर भएकाहरूले गलत काम भइरहेको छ भने त्यसलाई जनतामा लान जरुरी छ । हामी सरकारमा छौँ भनेर चुप लागेर बस्न मिल्दैन । हाम्रो भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ ।”
प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर भनेर पार्टीमा भन्नु गलत र निरङ्कुश कुरा भएको कोइरालाले बताएका छन् ।