विहान सर्वोच्चको पत्रबाट पक्राउ रेशम चौधरी सर्वोच्चकै अर्को पत्रबाट छुट्दै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले कारागार प्रशासनलाई पत्र पठाएको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ ।

विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो ।

उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएको प्रहरीले जनाएको छ ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताएका छन् ।

उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो ।

मुद्दा विचाराधीन भएकै अवस्थामा पक्राउका लागि पठाइएको पत्र कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइएको सर्वोच्चले जनाएको छ ।