प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित गरेर ६ गतेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरे स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उनी विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्ने बताइएको छ ।