कांग्रेसका सांसदको ४३ लाख दसैँ भत्ता कोरोना उपचार कोषमा जम्मा हुने
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले पाउने दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कांग्रेस पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई प्राप्त हुने कूल रकम ४३ लाख २० हजार ८ सय १० रुपैयाँ सो कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बताएका छन् ।
‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशै भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरिएको खाणले वताएका छन् ।
सो रकम जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय भएको जानकारी सचिवलायलाई गराइएको खाँणले बताएका छन् ।
