एमसीसी खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
विभिन्न दल निकटका भातृ संगठनले छुट्टाछुट्टै प्रदर्शन गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनदेखि नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेकाछन् ।
सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश गरेपछि यसको विरोध शुरु भएको हो ।
प्रदर्शनकारीहरुले एमसीसीलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । एमसीसी सम्झौताका केही वुँदा राष्ट्रघाती भएको भन्दै नेकपाका नेताहरुले सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न नसकिने बताउँदै आएका छन् । नेकपाले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल बनाएको थियो । कार्यदलले पनि केही वुँदा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन बुझाइसकेको छ ।
