प्रदेश प्रमुखहरुको सुविधा मोह
काठमाडौं । सात प्रदेशका प्रमुखहरु जनताको हितमा भन्दा आफ्नो सेवा सुविधा र हैसियत बढाउनमा केन्द्रित भएका छन् । विदेश भ्रमणमा श्रीमतीलाई पनि लैजान पाउनुपर्ने, थप उपचार खर्च पाउनुपर्ने, प्रदेश प्रमुखका कुरुवालाई पनि विरामी हुँदा कुरुवा खर्च दिनुपर्ने, पारिश्रमिक र मर्यादा बढाउनु पर्ने, आर्थिक सहायता दिन पाउनुपर्ने र कर्मचारीलाई पनि सुविधा दिएर राख्नुपर्ने उनीहरुका माग छन् ।
उनीहरुले कार्यालय, निजी सचिवालय, आवास आदिको सेवा सुविधा विस्तार गर्नुपर्नेलगायतका सात वुँदे ध्यानाकर्षणपत्र केन्द्र सरकारलाई बुझाएका छन् ।
राजनीतिक भेटमा प्रदेशप्रमुख सोमनाथ अधिकारी, तिलक परियार, विष्णु प्रसाई, अमिक शेरचन, गोविन्द कलौनी, सर्मिला त्रिपाठी, धर्मनाथ यादवले आफ्नो पदको मर्यादा र गरिमा अनुसार सुविधा बढाउनुपर्ने माग गरेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षसँग छुट्टाछुट्टै भेटेर आफ्ना माग राख्ने अभिप्रायले उनीहरु काठमाडौं आएको थिए । राष्ट्रपति र प्रधानमन्त्री कसैले नभेटेपनि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवासमा पुगेर भेट गरेका थिए ।
स्वतन्त्र वस्नुपर्ने दायित्व भएका प्रदेश प्रमुखहरुले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको भन्दै उनीहरुले राजनीतिक संरक्षण खोजेकोमा व्यापक विरोध भएको छ । सामाजिक सञ्जालदेखि राजनीतिक दलका नेताहरुले उनीहरुको विरोध गरेका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र समाजवादीका नेता बाबुराम भट्टराईलगायतले प्रदेश प्रमुखहरु तटस्थ हुनुपर्ने भन्दै अध्यक्ष दाहाललाई भेट्नु गलत भएको टिप्पणी गरेका छन् ।
भारत लगायतका कतिपय मुलुकमा राज्य सञ्चालनको दायित्व लिएका राज्यपाल अर्थात गभर्नर अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुने गर्छन् । उनीहरुलाई राष्ट्रपतिको प्रतिनिधिको रुपमा हेरिन्छ । तर नेपालमा त्यस्तै व्यवस्था भएपनि प्रदेश प्रमुखहरुले आफ्नै मात्र सुख सुविधालाई केन्द्रमा राख्नुले उनीहरुको आलोचना भएको हो ।
उनीहरुलाई सरकारले उपलव्ध गराइदिएको ललितपुरस्थित डाउनटाउन अपार्टमेन्टमा बसेर सुझावपत्रका नाममा सरकार समक्ष मागपत्र राख्दा उनीहरुले आफ्नै हैसियत विर्सिएको आरोप लागेको छ ।
संविधानले दिएको हक मात्र पालना गर्ने हो भने उनीहरुले धेरै कुरा खोज्नै पर्दैन । राज्यले आर्थिक स्रोतले भ्याएसम्म उनीहरुलाई मान, मर्यादा, सुविधा दिएकै छ । तसर्थ स्वार्थी नेताले झै प्रदेश प्रमुखले पनि व्यक्तिगत सुख सुविधाका लागि मरिहत्ते गर्दा उनीहरुको अवमूल्यन भइरहेको देखिन्छ । यसले नेपाली राजनीतिमा विकृति फैलिदैछ भन्ने सन्देश गएको छ भने ‘जो अगुवा उही वाटो हगुवा’ भने झै गभर्नरको भूमिका बसेका महत्वपूर्ण व्यक्तिहरुले देखाएको प्रलोभन आफैमा दूरासयपूर्ण र स्वार्थपरक देखिएको छ ।