अल्का अस्पतालको सीईओमा दिलिप थापा नियुक्त
नमूना अस्पतालको रुपमा विकसित गर्ने थापाको उद्घोष
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिलिप थापा नियुक्त भएका छन् । अल्का अस्पतालको बोर्ड बैठकले थापालाई सीईओमा नियुक्त गरेको हो । थापाले बुधबारबाट कार्यभार सम्हालेका छन् ।
कार्यभार सम्हाल्दै थापाले अल्का अस्पताललाई नमूना अस्पतालको रुपमा विकसित गर्ने बताए । अल्का अस्पताल १३ वर्षअघि स्थापना भएको हो । अस्पतालका अध्यक्ष कुमार थापाले २०५२ सालमा अल्का फार्मेसी सुरु गरेका थिए । २०५९ सालमा अल्का फार्मेसी, अल्का पोलिक्लिनिकमा परिणत भएको थियो । अल्का पोलिक्लिनिकले २०६२ सालमा अस्पताल सञ्चालनको अनुमति पाएको थियो । सुरुमा २५ शैय्याबाट सुरु भएको अल्का अस्पताललगत्तै सय शैय्यामा पुगेको थियो ।
अल्का अस्पतालले अहिले मधुमेह तथा थाइराइड, बाल रोग, गाइनोकोलोजी, युरोलोजी, न्युरो फिजिसियन तथा सर्जरी, ग्यास्ट्रोलोजी, कलेजोरोग विशेषज्ञ, आइभीएफ, बाथ रोग विशेषज्ञ, ब्लड क्यान्सर, मुटु रोग विशेषज्ञ, छाती रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञबाट सेवा दिइरहेको छ । त्यस्तै जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग, मानसिक रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, सर्जरी, छाला तथा यौन रोग, डायालासिस विशेषज्ञबाट चौबिसै घन्टा सेवा प्रदान गरिरहेको छ । साथै अस्पतालको अन्तर्राष्ट्रिय स्तरको ल्याव छ । अस्पतालले सिटी स्क्यान, इन्डोन्स्कोपी, अल्ट्रासाउन्ड, लिथोट्रेप्सी (विना अप्रेसन स्टोन फुटाएर निकाल्ने)सेवा दिइरहेको छ भने लेजर पद्धतिबाट कस्मेटिक उपचार गर्दै आइरहेको छ भने अस्पतालमा ल्याप्प्रोस्कोपिक सेवा उपलब्ध छ । ल्याप्प्रोस्कोपिक भनेको अप्रेसन नगरी दुरविनको सहयोगले सानो प्वाल बनाएर उपचार गर्ने पद्धति हो । निकट भविष्यमा अझै सुविधासम्पन्न पूर्वाधार बनाउने अस्पतालको योजना छ ।