पूर्वअर्थमन्त्री पौडेलद्धारा बौद्ध शिक्षामा जोड

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले बौद्ध शिक्षाको विकासमा जोड दिएका छन् । शुक्रवार लुम्विनी बौद्ध विश्वविद्यालयको १४ औं बार्षिकोत्सवको लुम्विनीमा उद्घाटन गर्दै उनले यस्तो कुरामा जोड दिएका हुन् । साताव्यापी रुपमा मनाउन लागिएको बार्षिकोत्सवमा बोल्दै प्रतिनिधी सभाका सदस्य समेत रहेका पौडेलले बौद्ध शिक्षाको विकासका लागि सरकारले ऐन बनाएर वजेट विनियोजन गरी योगदान पु¥याउने बताएका थिए ।
कानुन संशोधन गरेरै बहुविषय अध्ययनमा उक्त विश्वविद्यालय जानु पर्ने समेत बताए । लुम्विनी, बौद्ध दर्शन एक अर्काका परिपुरक भएर अगाडी बढ्दा समग्र विकास हुने धारणा राखे । त्यस विश्वविद्यालयका लागि सय रोपनी जमिनको आबश्यकता रहेकोमा त्यसको पुर्ति गर्ने प्रकृया पनि पुरा हुने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले बौद्ध दर्शन र लुम्विनीको माध्यमबाट समग्र विकास हुने भएकोले त्यस तर्फ अगाडी बढ्न जोड दिएका थिए ।
कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश ५ का सांसद फकुरुद्धिन खान, विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्य, लुम्विनी विकास कोषका उपाध्यक्ष भिक्षु मत्तेयल लगायतले पनि मन्तव्य राखेका थिए । सोही अवसरमा पुर्व अर्थमन्त्री पौडेलले १२ करोड ६८ लाखमा निर्माण हुन लागेको सो विश्वविद्यालयको पुस्तकालय भवनको शिल्यान्यास समेत गरेका छन् ।
बार्षिकोत्सव मंसिर २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा समापन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा राष्ट्रपतिले नबनिर्मित छात्रावास, अनुसन्धान केन्द्रको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले जानकारी दिए । पुर्व क्याम्पस प्रमुख ईन्द्र काफ्ले लगायतले त्यहाँको शैक्षिक गतिविधीबारे अबगत गराएका थिए । सो अवसरमा ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण समेत गरिएको थियो ।