प्रचण्ड डाँका हुन: अध्यक्ष किराँती

काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको पाँचौँ वर्षगाँठका अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै पुनर्गठित एकीकृत नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले हिजोका दिनमा प्रचण्डले क्रान्तिको नेतृत्व गरेपनि अहिले उनी डाँका बनिसकेको संज्ञा दिएका छन् । अध्यक्ष किराँतीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डाँकाको संज्ञा दिएका छन्।

‘हिजो क्रान्तीकारी नेता भनेर हामीले उनलाई समर्थन गर्‍यौँ तर अहिले प्रचण्ड धनाड्यहरुको लाइनमा लागे । सम्पत्ती थुपारे, जनतालाई धोका दिए, प्रचण्ड डाँका भए,’ किराँतीले भने ।

उनले नेपाली कांग्रेसले राणाशासन हटाएको र माओवादीले राजा हटाएको इतिहास भएपनि एमालेको त्यस्तो कुनै उल्लेख्य इतिहास नरहेको पनि दावी गरे ।

‘कांग्रेसले राणा र माओवादीले राजा हटाएको हो, एमालेको मुख्य योगदान गरेको इतिहास हिजो पनि थिएन, आज पनि छैन,’ किराँतीले भने।

किराँतीले केपी ओली नेतृत्वको सरकार खाल्टोमा भासिइसकेको आरोप लगाएका छन्।