कञ्चनपुरको बेदकोट नगरपापलिकामा जङ्गली हात्तीले तीन घर भत्कायाे
कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ ।
गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ ।
लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ । घर नजिक लगाएको तरकारी नष्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीको झुण्डले उखेलेको छ ।
राति १२ बजे २० भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो ।
हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए। ‘बिहान घरमा पुग्दा घर भत्काइएको थियो’ उनले भने, ‘घरभित्र राखेको सबै अन्न खाइदियो । लुगाफाटोसमेत च्यातचुत पारेर विचल्लीमा पारेको छ ।
