पार्टीलाई एक ढिक्का बनाइसकेपछिमात्र विश्राम लिने ; सभापति देउवा

काठमाडौं- दसैं, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदान–प्रदान गर्न कांग्रेस काठमाडौं महानगरपालिका–४ कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहका निर्वाचनपछि कांग्रेसले अपेक्षित मतपरिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागिरहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछिमात्र विश्राम लिने बताए ।

सभापति देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहका निर्वाचनबाट नेपाली कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् ।

उनले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे ।

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एक ढिक्का भइ निर्वाचनमा गएमा अर्कोपटक कांग्रेसले निर्वाचन जित्नसक्ने विचार व्यक्त गरे ।

उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट–उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताए ।

पूर्वमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना भएको, संविधान जारी भएको तथा तीन तहका निर्वाचन सम्पन्न भएको बताए ।

अर्का पूर्वमन्त्री नरहरि आचार्यले लोकतन्त्रमा सत्तापक्षको साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका रहने विचार राखे ।

कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँ, नेपाल महिला संघ काठमाडौं क्षेत्रीय सभापति भवानी केसी, प्रदेशसभा सदस्य नारायण सिलवाललगायतका वक्ताले बोलेको सो कार्यक्रम वडा नम्बर–४ कांग्रेस कार्यसमितिका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा भएको थियो ।