चियापानको कोकोहोलोले बाबुरामको दोहोलो
काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई उहिले उहिले लेख्न जान्ने तर बोल्न नजान्ने नेताको रुपमा लिइन्थ्यो । त्यही भएर द्वन्द्वकालमा माओवादीले बोल्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लेख्ने जिम्मा डा.भट्टराईलाई दिएको थियो ।
स्रोतका अनुसार द्वन्द्वकालमा अर्का नेता मोहन बैद्य योजना बनाउँथे, डा. भट्टराईले त्यसलाई लेख्ने अर्थात् भाषामा उतार्थे र प्रचण्डले त्यसलाई कार्यकर्ता र मासमा प्रस्तुत गर्थे । अहिले यी ३ नेता बेग्लाबेग्लै पार्टीमा छन् । प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा मिसाए । बैद्य र भट्टराइृले पार्टी नै फेरे । डा भट्टराईको पार्टीसँगै स्वभाव पनि फेरिएको छ । अहिले बोल्न नजान्ने मात्र होइन, लेख्न समेत नजान्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीको चियापानबारे डा भट्टराईले लेखेको अभिव्यक्तिले त्यसको पुष्टि गरेको छ ।
पूर्वप्रधानमन्त्री ट्वीटरबाट चियापानमा आफू उपस्थित नहुने उल्लेख, त्यो पनि चियापान कार्यक्रमकै आलोचनासहित । शनिबार बिहान आफूलाई एउटै खाममा चारवटा निम्तो पठाएकोमा धन्यवाद दिँदै भट्टराईले ५० हजार जनालाई भोज खुवाएर अनुत्पादक क्षेत्रमा खर्च गर्न लागेको भन्दै आफू उपस्थित हुन नसक्ने बताए ।
भट्टराईलाई नेकपाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेको निम्तोपत्रमा शनिबार दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको थियो ।
त्यसप्रति दभट्टराईले ट्वीटमा लेखेका छन् ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना गरिब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ जय होस् ।’
भट्टराईले ट्वीटमा त्यस्तो लेख्नासाथ सामाजिक सञ्जालमा उनीविरुद्ध शब्दको प्रहार हुन थालेको छ । सामाजिक सञ्जालमा अधिकाँशले भट्टराईलाई विगत सम्झाएका छन् । नयाँ शक्ति पार्टी घोषणाको दिन मुलुकमा चर्चित सबै पत्रिकाको अघिल्लो पृष्ठमा ठूलो आकारमा विज्ञापन गरिएको थियो । विज्ञापनकै लागि टेलिभिजनमा लाखौ खर्च गरिएको थियो । सामाजिक सञ्जालमा उनलाई पछ्याइरहनेहरुले त्यसबाट कतिवटा विद्यालय संचालन गर्न सकिन्थ्यो भनेर व्यंग्य गरेका छन् । विगतमा उनको पार्टी नयाँ शक्तिले गरेको खर्च र तडकभडक सप्रमाण ट्वीट र फेसबुकमा पोष्ट गरिदिएका छन् । नेकपाको चियापानबारे कोकोहोला निकाल्दा कतिपयले भट्टराईको दोहोलो काढेका छन् ।
भट्टराईको ट्वीटलाई सात सय १८ ले लाइक गरेका छन् भने एक सय तीन जनाले रिट्वीट अर्थात प्रतिक्रिया दिएका छन् । जसमध्ये अधिकांसले भट्टराईको आलोचना गरेका छन् । केही ट्वीट कर्ताले नयाँ शक्ति पार्टीको घोषणा गरिएको दिनका ८÷१० वटा व्रोडसिट दैनिकहरुमा छापिएको ज्याकेट विज्ञापनको तस्विर सहित रिट्वीट गर्दै विगत सम्झाएका छन् । प्रदिप भट्टराईले लेखेका छन् – “यो के हो महोदय ? सबै पत्रिकामा यसरी छपाउने पैसाले कम्तिमा १० बटा बिधालय बन्थ्यो । सयौ विद्यार्थीलाई पढाउन सकिन्थ्यो होइन र ? पहिला आफ्नो अनुहार हेर्नुस है ।”

त्यस्तै माधव परिवर्तनले पनि रिट्वीट गर्दै त्यस्तै लेखेका छन् । “हजुर कामरेडले नयाँ शक्ति पार्टीको स्थापना गर्दा सवै जसो मुलधारका राष्ट्रिय दैनिक पत्रिकामा करोडौं खर्च गरेर ज्याकेड विज्ञापन निकालेको कति छिट्टै बिर्सनु भो । लाजको पसारो । मितव्ययिताको गफ पनि कति देको जय नेपाल कामरेड !”
विनोद आचार्यले भट्टराईको ट्वीटलाई व्याग्यांमक रुपमा समर्थन गर्र्दै लेखेको छन् –“यहाँको कुरो सही हो बिवाद छैन समर्थन गरिन्छ । तर एउटा जिज्ञासा ः यहाँले गरेको यूरोप अमेरिका भ्रमणको श्रोत के होला कुन्नी !”
बुद्दु नामक ट्वीटर प्रयोगकर्ता लेखेका छन् “कठै डा. साब हिजो ४९ सदस्यीय इतिहासकै जम्बो मन्त्रीमण्डल बनाएर राज्यकोषको धज्जी उडाउदा गरिब–गुरुवाको याद आएन तर आज नेकपाको चियापानमा कति धेरै राष्ट्रियता पलाएछ । ढिलै भए नि ज्ञान आएछ ! आफूले गरे ठिक अरुले गरे बेठिक भन्ने प्रवृत्ती त्यागे सबैको भलो हुने थियो कि ?”
त्यस्तै सुरेन्द्रले लेखेको छन् “बल्ल तल्ल नेपाली कांग्रेसको बुई चढेर एक सिट जित्न सफल नयां शक्ति प्राईभेट लिमिटेडका संयोजक तथा पाखन्डी नेता डाक्टर भट्टराईलाई निम्ता कार्ड धेरै भयो रे ! एनजीओ आईएनजीओ र रअको कार्यक्रममा त खर्चको हिसाब नगरी पुग्ने यिनलाई, नेकपाले भाउ दिनु उचित होईन् ।”
सपथ शर्मा थपलियाले लेखेका छन् –“कुरो त ठिक गर्नु भो । तर के त भन्दाखेरी चोरले नचोर्नु भन्ने उपदेश दिंदा कताकता नमिलेको जस्तो लाग्ने के ! तपाईंको पार्टीको स्थापना ऐले नै कसरी भुल्नुभो महाराज ! हाम्रो मष्तिकले काम गर्दैन भन्ठान्नु भाको रछ !”
रिट्वीट वाहेक ट्वीटर, फेसवुकलगायतका सामाजिक सञ्जालमा पनि भट्टराईको चर्को आलोचना भएको छ ।
