प्रहरीको हर्कत: पक्राउ परे डिएसपी राई घुस रकम सहित
काठमाडौं- तर शनिबार घुस रकम सहित रंगेहात पक्राउ परेका डिएसपी श्यामकुमार राईको घुस लिने समय र तरिका निकै फरक रहेको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना वरिष्ठ अधिकारीका अनुसार डिएसपी राईले घुस लिनु अघि आफ्नो क्षेत्रमा रेकी गर्ने, आयोगमै रहेका साथीहरुसँग घुमाउरो तरिकाले बुझ्ने र राती १० देखि १२ बजेमात्र घुस लिने गरेका थिए।
शनिबार उनले समय र तरिका दुबैको ख्याल गरेको भए अघिल्ला सात पटकजस्तै अख्तियार यसपटक समेत खाली हात फर्कनु पर्ने अवस्था थियो।
आयोगमा डिएसपी राई बिरुद्ध वृत्त चापागाउँ प्रमुख रहँदैदेखि घुस लिने गरेको उजुरी परेको थियो। उनी वृत्तमा गएको एकहप्ता पछि नै त्यहाँका रोडा ढुङगा व्यवसायी, घरजग्गा व्यवसायीदेखि होटल रेष्टुरेन्ट सञ्चालकसँग असुली थालेका थिए। यसको उजुरी आयोगमा आएपछि उनी निगरानीमा थिए।
तर कुनै समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रहरी महाशाखामा काम गरेका डिएसपी राई स्ट्रिङ अप्रेशनका विषयमा जानकार थिए। उनले ललितपुरको चापागाउँ वृत्तमा रहँदा कार्यालयको आफु बस्ने चौथो तलामा राती १० बजेपछि सेवाग्राही बोलाएर घुस लिन्थे। त्यहाँसम्म पुग्ने च्यानल गेटमा ताला लगाएर घुस रकम लिने र लिएको रकम लुकाउने उनको तरिका थियो।
उनका अनुसार प्रहरीको इन्टेलिजेन्समा समेत बसेका राईले घुस लिनु अघि धेरै सावधानी अपनाउने गरेका थिए।
‘शुक्रबार मात्र त्यती ठूलो घटना भएको छ, आफु तानिनु अघि रकम कुम्ल्याउन खोजेको देखिन्छ, आयोगले नै सचेत गराएको थियो,’ ती अधिकारीले बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार मध्यरातमा डिएसपी राईकै कार्यक्षेत्र रहेको काठमाडौंको मूलपानी क्षेत्रमा अवैध जुवाघरमा छापा मारेर २३ जना जुवाडे समातेको थियो। घटनामा २ जनाको छतबाट हामफाल्दा ज्यान गएको थियो।
त्यसलगत्तै काठमाडौं प्रहरी प्रमुख बसन्तकुमार लामाले डिएसपी राईलाई सचेत गराएका थिए भने परिसरका एसपी अशोक सिंहले चेतावनी दिएका थिए।
डिएसपी राईले भने सिनियरका कुरा सुन्नुभन्दा आफ्नो बानीलाई निरन्तरता दिए। उनले घरजग्गा व्यवसायीसँग ‘दशैं खर्च’ मागेका थिए। डिएसपी राईको बानीले आजित भएका व्यवसायीले अख्तियारलाई खबर गरे। र, शनिबार राती उनी एकलाख ४० हजार घुस रकम सहित आयोगको हिरासतमा पुगे।
प्रहरी स्रोतका अनुसार कालिमाटी वृत्तमा रहँदा समेत विवादमा आएका राईलाई तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तानेका थिए।
