जुवा अखडामा छापा हान्दा ४ तला माथिबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु

काठमाडौं  मुलपानी स्थित भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् ।

प्रहरी अप्रेशनका क्रममा हामफालेका दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, ‘एक महिला सहित २३ जना पक्राउ परेका छन्, थप अनुसन्धान भईरहेको छ ।’

मुलपानी स्थित तामाङ थरका व्यक्तिको घरमा लामो समयदेखी ‘भिआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राति १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए । प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रणमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।

प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका सरोज घले र सोमलाल तामाङको शुक्रवार राति नै ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।

लामो समयदेखी यसरी जुवा अखडा चल्दै आए पनि महानगरीय प्रहरी वृत बौद्धका अनुसार उक्त अखडालाई संरक्षण गरेको आरोप लाग्दै आएको थियो । राईको संरक्षणमा जुवा अखडा चलेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाटै खटिएको प्रहरी टोलीले उक्त जुवा अखडामा छापा मारेको हो ।